मंगलवार १२ मंसिर, २०८०
१२ मंसिर, काठमाडौं ।
काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ । साथै सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णतया रोक लगाइएको स्वास्थ्य विभागका प्रमुख पौडेलले जानकारी दिए ।
महानगर भित्र १५ दिनपछि यस्ता वस्तुको बिक्रि वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने भएको छ । साथै व्यापारीमाथि अधिकतम कारवाही समेत हुने भएको छ महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको हो । काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।
प्रमुख पौडेल भन्छन्, ‘सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको बताए । मंसिर २७ देखि नगर प्रहरी पसल पसलमा गएर जफत गर्छ ।’ ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा यस सम्बन्धी व्यवस्था छ ।
हुक्का निषेध गर्ने तयारी
महानगरले पहिलो चरणमा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ र गुट्खाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ भने दोस्रो चरणमा महानगर भित्र हुक्का निषेध गरिने उनले जानकारी दिए । महानगरभित्र सञ्चालनमा रहेका सबै रेष्टुरेन्ट, बारमा हुक्का प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी महानगरले गरेको उनले बताए । युवाको स्वास्थ्यलाई लक्षित गरी यस्तो योजना बनाइएको उनको भनाइ छ ।
हानगरले प्लास्टिकमा प्याकेजिङ सुर्तीजन्य पदार्थ पूर्ण रुपमा निषेध गरेको छ