बुधबार २५ पुष, २०८०
२५ पुष, काठमाडौं।
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यस अघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।
फैसलामा भनिएको छ, ‘परिवर्तित नाम गौशाला ६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पिडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङं बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम ३ लाख जरिवाना हुने तथा पिडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ ।
सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन् । यो मुद्दामा दुवै पक्ष पुनरावेदनमा जाने निश्चित भएको छ । सरकारी वकिल पक्षले पीडित बालिग ठहर गरेकामा चित्त नबुझाएकाले पुनरावेदन जाने निश्चित छ । क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा चित्त बुझाएका छैनन् ।
५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६)लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।