मंगलवार १६ माघ, २०८०
१६ माघ २०८०,काठमाण्डौ ।
बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका हुन् ।
लामाचौर र पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएकोले नियन्त्रणका लागि अभियान चलाइएको उनले बताए । ‘१० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ ।
उनले सूचना जारी गरेपछि अहिले यसका तर्क वितर्क सुरु भएका छन् । केहीले सूचना नागरिकको हितमा भएको तर्क गरेका छन् भने केहीले रुख काटेर बाँदर नियन्त्रण नहुने बताएका छन् । पोखराका अगुवा विश्व सिग्देल वडाको सूचना लज्जास्पद भएको बताउँछन् । ‘यस्तो लज्जास्पद निर्णय कसरी गर्नुभयो रु यो निर्णयले पोखराको मात्रै होइन, तपाईँ हाम्रो सन्तान स्वयंले भविष्यमा शिर झुकाउने छन्,’ उनले भने, ‘हाम्रो सन्तान भएर जन्मनु परेकोमा धिक्कार्ने छन् ।
घरमा उडुस उपियाँ मुसाले दुख दिए भनेर घरमै आगो लगाउने हैन, घरको सरसफाइ गर्ने हो । उनीहरू नआउने माहौल बनाउने हो । टाउकामा लिखा जुम्रा परे भने टाउको काट्ने होइन, रिट्ठो पाती कुटेर नुहाउने हो ।’