बुधबार ७ चैत्र, २०८०
७ चैत, काठमाडौं ।
लामो समयपछि वर्षा भएपछि किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि किसानहरु खुसी भएका हुन् । विशेष गरी खेतीको सिजन सुरु भएको बेलामा पानी पर्दा खेतीपाती गर्न सजिलो हुने किसान बताउछन् । मकै, अलैँची तथा चिया किसान खुसी भएका छन् ।
मकै लगाउने, “चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्ने”, किसानको आशा छ । “लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलु लगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।”
बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडि तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ ।
“लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो । जसले गर्दा आलु, गहुँ, तोरीलगातका बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो । हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ”, उनले भने, “कुनै स्थानमा मकै छरिएको छ त कतै छर्ने तयारी भइरहेकाले पानीले राम्रो गरेको छ ।
“नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ”, उनले भने, “हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।”
आज देखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ ।