बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

सुनकोशी मरिन डाइभर्सन ः ‘ब्रेक थ्रू’को तयारी

शुक्रबार ९ चैत्र, २०८० nepalexplores 1483


सुनकोशी मरिन डाइभर्सन ः ‘ब्रेक थ्रू’को तयारी

९ चैत, काठमाडौं । 
तराई–मधेशमा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।

 

आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ।


सुनकोशी मरिन डाइभर्सन कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ। यो विवरण बिहीबार रातिसम्मको हो। ‘सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ। कुनै भौगर्भिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौं’, आयोजना प्रमुखले भने ।


निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिंचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुख लगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमा नै समस्या समाधान गर्न निर्देशन दिएका छन्। 

 

प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमानदार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ। मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ।नेपालका विद्युत तथा अन्य सिंचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ। यस अघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

 

पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ। सुरुङ खन्दै जाँदा चुरे र महाभारत पर्वत शृङ्खलाका बीचमा समस्या देखिंदा केही दिन प्रभावित भएको थियो। त्यसलाई समाधान गरेर हाल नियमित रुपमा सुरुङ खन्ने काम भइरहेको छ। सुनकोशी नदीको पानी मरिन खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाका सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोही अनुसार भएको छैन। सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ ।


सुनकोशी मरिण डाइभर्सन आयोजना बाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ। राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुको भनाइ छ।

 

सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु