बुधबार २१ चैत्र, २०८०
२१ चैत, काठमाडौं ।
बुधबार बिहान ताइवानको हुआलियन शहर बाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।
त्यस पछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो।
ताइवानमा भूकम्प बाट केही भवनहरु भत्किएका छन्। भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन्। ती भवनहरु कोल्टे परेको देखिन्छ। पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ।
स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ। सुरुको धक्का बाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ।
ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो। समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।
बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो। यस अघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो। त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। ताइवानका मिडियाहरुका अनुसार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ। त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ।