बिहीबार २८ असार, २०८१
२७ असार, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएकाले उच्च सतर्कता पनाउन अनुरोध गरेको छ।
नेपालतर्फ मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ। उक्त रेखा अझै नेपालतर्फ सर्ने सम्भावना भएकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ।
सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका २६ जिल्लालाई मध्यम जोखिममा र ४३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ।
मध्यम जोखिममा कोशी प्रदेशबाट ओखलढुंगा, बागमतीबाट रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची, कर्णालीको दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र बैतडी जिल्लाहरु मध्यम जोखिमको सूचीमा छन्।
न्यून जोखिममा कर्णालीको डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला छन्।
महाशाखाले उच्च जोखिममा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपर मधेशको सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी बागमतीको मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ जिल्लाहरु उच्च जोखिमको सूचीमा परेका छन्।
यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ।
मनसुन भित्रिएदेखि हालसम्मको अवधिमा देशभर ८१ जनाको मृत्यु भइसकेको छ।