आईतवार १ मंसिर, २०८२ (Sunday November 16, 2025)

डोनाल्ड ट्रम्पलाई इरानी राष्ट्रपतिको चेतावनी

बुधबार २ माघ, २०८१ nepalexplores 1184


डोनाल्ड ट्रम्पलाई इरानी राष्ट्रपतिको चेतावनी

२ माघ, काठमाडौं । 
डोनाल्ड ट्रम्पलाई इरानी राष्ट्रपति मसूद पेजेस्कियानले चेतावनी दिएका छन्।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका हुन्।

वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन। ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी सहयोगी इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

इरानको आणविक स्थलमा अमेरिका समर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भनेका छन्, ‘हामी कुनै पनि कदमको जवाफ दिनेछौं। ‘हामी युद्ध चाहँदैनौँ अनि युद्धसँग पनि डराउँदैनौँ ’।

ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भनेका छन्, ‘मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।’ इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली शक्तिहरू आणविक कार्यक्रम पुनः सुरु गर्न गम्भीर रहेको बताएका थिए।

सन् २०१५ मा इरान, फ्रान्स, बेलायत र जर्मनी लगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रम माथिको प्रतिबन्धको बदलामा तेहरान माथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने सम्झौता भएको थियो।

ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हटेको थियो र आर्थिक प्रतिबन्धहरू पुनः लागु गरेको थियो।

तेहरानले आणविक सम्झौताबाट वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले आफ्नो प्रतिबद्धताबाट क्रमशः पछि हट्दै जाँदा अहिले सम्झौता कायान्वयनमा छैन।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु