बुधबार ३ बैशाख, २०८२
३ वैशाख, काठमाडौं।
इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटिएको छ। इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको हो। नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको जनाएको छ।
यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ। नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान ११ः२० बजे सो भाले चरा देखेका थिए।
उनीसँगै रहेका दुई जना मलेसियन नागरिक र नेपाली चराविद अनिस तिम्सिनाले पनि चरा अवलोकन गरेको चराको फोटो र भिडियो खिचेर पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौंमा पठाएका थिए।
नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीका अनुसार अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको बताएका छन्।
सो चराको अंग्रेजी नाम Voilet Cuckoo र नेपाली नाम ‘बैजनी कोइली’ राखिएको छ। यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, आलोस, मलेसिया, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा पाइन्छ।