शनिबार २७ बैशाख, २०८२
२७ वैशाख, काठमाडौं ।
सगरमाथा आरोहण यम सुरु भएको छ। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो।
सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ।
विभागका निर्देशक लीलाधर अवस्थीले भने, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने सक्ने जनाएका छन्।’
एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताएका छन्।
आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेको जनाएका छन्। सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन्।
मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ। भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा छन्। यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही रहेका छन्।
सगरमाथा आरोहण ४० दिनको हुन्छ। आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन्। उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन्।
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्।अझै एक, दुई टीम थपिने विभागको अनुमान गरेको छ।
अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ। सबै हिमालबाट ७८ करोड सङ्कलन भएको जनाएको छ।