शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो दुई अर्ब बढी राजस्व

मंगलवार २८ आश्विन, २०८२ nepalexplores 1414


मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो दुई अर्ब बढी राजस्व

२८ असोज, काठमाडौं।
मुस्ताङ भन्सार कार्यालयले दुई अर्ब बढी राजस्व संकलन गरेको छ।

मुस्ताङ भन्सार कार्यालयले भदौ ३१ गते देखि पूर्णरुपमा सञ्चालनमा आएको कोरलानाका बाट रु. २ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको जनाएको छ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु.२ अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको हो। 

अहिले सम्म कोरला नाका बाट चीनतर्फ ३८७ मालवाहक र १ हजार १९४ विद्युतीय कारको भन्सार जाँचपास भइसकेको जनाएको छ।

२०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका वासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरलानाका भन्सार गतिविधि आंशिक रुपमा सक्रिय रहेकामा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात र निर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको छ।

कोरला नाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै व्यापारिक चहलरपहल बढेको छ। भन्सार प्रमुख रमेश खड्काको अनुसार दसैँ बिदा पछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको जनाएका छन्।

नेपालतर्फबाट स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँचवटा मालवाहक साधन भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएको छ। मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास भएको बताइएको छ।
 
समुन्द्री सतहको ४ हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात,निर्यात लगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ।

नाकामा अत्यधिक चिसो, हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झर्ने परम्पराले गर्दा नाका सञ्चालनमा असहज हुन सक्ने कार्यालयले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु