मंगलवार ३ चैत्र, २०८२
३ चैत, काठमाडौं ।
पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गते देखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने जनाएको छ।
पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिएका छन्।
प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुने बताएका छन्। प्रतियोगितामा नेपाल सहित ७ भन्दा बढी देशका करीब एक सय जना खेलाडी सहभागी हुने जनाइएको छ।
प्रतियोगितामा सहभागि हुन आयोजक नेपालसहित भारत, चीन, मलेसिया, थाईल्याण्ड लगायतका देशका प्याराग्लाईडिङ पाइलटहरुले प्रतिष्पर्धाका लागि नाम दर्ता गराइसकेका छन्।
प्रतियोगितामा सहभागी हुन यूरोपका विभिन्न देशका १५ भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि मध्यपूर्वी एसियामा देखिएको तनावका कारण उनीहरुले नाम रद्द गरेको जानकारी दिएका छन्।
पोखरा–१८ सराङकोट बाट उडान (टेकअफ) र खपौंदीमा अवतरण (ल्याण्डिङ) हुनेगरी प्रतियोगिता सञ्चालन हुने जनाएको छ।
यद्वपी सम्भावित दुर्घटनाबाट बच्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्दार (रेस्क्यू) टोली तैनाथ गरिने जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख मणिराज लामिछानेका अनुसार प्याराग्लाईडिङ प्रतियोगिताले पर्यटनमा नया आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिएका छन् ।
त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने र समूहगत प्रतिष्पर्धामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष केसीले बताएका छन्।
प्रदेश कार्यालय गण्डकी, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद्लगायतको सहयोग रहने ‘ना’का महासचिव बलराम आचार्यले जानकारी दिएका छन्।