बिहीबार ७ जेष्ठ, २०८३
७ जेठ, काठमाडौं।
छैटौं संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते बाट ३ दिन हुने भएको छ।
हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतह बाट ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो।
हर्जोजको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविर बाट गरेका थिए। हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै हिमाल आरोहणको क्रम बढ्यो नै यसले अन्नपूर्ण क्षेत्र विश्वव्यापी चासो र चर्चाको विषय बन्यो।
अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशक पछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले ४ हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको पाइन्छ।
अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्नकै लागि अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक २०७५ यता अन्नपूर्ण म्याराथन गर्दै आएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले बताएका छन।
“अन्नपूर्ण हिमालको महिमा र गरिमालाई विश्वमाझ पुर्याउनका लागि २०७४ साल देखि अन्नपूर्ण म्याराथन गर्दै आइएकोमा यस वर्ष जेठ २० गते (जुन ३) का दिन छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन गर्न लागिएको जनाएको छ।”
यस म्याराथनमा समुद्री सतह बाट ४ हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविर बाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन्।
यस अघिका पाँचौ संस्करणसम्म प्रथम हुने धावकहरूले चार घण्टा १६ मिनेट देखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको गुरुङले जानकारी दिएका छन्।
“पदयात्राका क्रममा भने यो मार्ग पार गर्न तीन दिन लाग्छ”, उनले भने, “पदयात्राका क्रममा पहिलो दिन पदयात्रीहरू आधार शविर बाट बम्बो या दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक आउँछन्।”
अन्नपूर्ण आधार शिविर बाट सुरु हुने यो म्याराथन माछापुच्छे आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिएका छन्।
अन्नपूर्ण प्रथम हिमाल हिमाल आरोहणको ७६ वर्ष पुगेको जानकारी दिँदै उहाँले अघिल्लो पाँचौँ संस्करणको म्याराथनलाई हीरक उत्सवका रुपमा मनाइएको बताएका छन्। यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्यारथनमा भाग लिने निश्चित भएको उनले जानकारी दिएका छन्।
म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रा र तेस्रो हुने धावकहरूले क्रमशः रु १ लाख ५० हजार, १ लाख र ७५ हजार नगदसहित प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिएका छन्।
यस म्याराथनले अन्नपूर्ण प्रथमको मात्र नभएर समग्र गण्डकी प्रदेश र नेपालकै हिमाली पर्यटनमा विशिष्ट योगदान पुर्याउने अधिकारीले बताएका छन्।