शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्रबार २ आश्विन, २०८३ nepalexplores 1003


मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२ असोज, काठमाडौं । 

मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको हो । 

कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मकालु वरुण राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२,२०८३ मा २ हजार १ सय ८८ विदेशी र ३ हजार २ सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका जनाएका छन् ।

१ वर्षमा ५ हजार २७६ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीले बताएका छन् ।

जसमा ८१९ महिला र २ हजार ४०८ पुरुष नेपाली पर्यटक, १ हजार ५३३ पुरुष र ६५५ महिला सहित २ हजार १८८ विदेशीले निकुञ्ज भ्रमण गरेको जनाएको छ ।

वन्यजन्तु अवलोकन सहज हुने भएकाले वैशाख, असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने गरेको निकुञ्ज स्रोतले जनाएको छ । करिब २ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बु जिल्लासम्म फैलिएको छ ।

निकुञ्ज क्षेत्रमा विश्वकै पाँचै अग्लो मकालु हिमाल, विश्वकै होचो अरुण उपत्यका, मेरा पिक, चाम्लाङ हिमाल, शिवधारा, वरुण दोभान, पाँचपोखरी, ख्याम्पालुङ गुफा, तोतोपानी मुहान हटिया, साल्दीमा भ्याली, हिउँ चितुवा, हाब्रे (रेडपाण्डा), कस्तुरी मृग, डाँफे, मुनाल, सालक, २५ प्रजातिका गुराँस, ३१५ प्रजातिका पुतली, घोरल लगायत विभिन्न प्रजातिका वन्यजन्तु पाइन्छ ।

४३३ भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएको निकुञ्जमा ठुला पाँखरी, झरना, घाँसेमैदान, वन्यजन्तु अवलोकन तथा प्राकृतिक पदमार्ग पर्यटकका लागि मुख्य आकर्षण रहेको छ ।

प्राकृतिक सम्पदा, जैविक विविधता र हिमाल आरोहण अनुपम गन्तव्यका रूपमा मकालु राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयले १ वर्षमा रु. ९० लाख ५ हजार १९१ राजस्व सङ्कलन गरेको जनाएको छ ।

निकुञ्ज कार्यालयले एक वर्षको अवधिमा प्रवेश शुल्क, वन पैदावार, पथ प्रदर्शक शुल्क, हेलिकप्टर अवतरण शुल्क, न्यायिक दण्ड जरिवाना लगायत बाट उक्त राजस्व सङ्कलन गरेको जनाएको छ ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु