बुधबार २१ आश्विन, २०८३ (Wednesday October 07, 2026)

त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरू

बुधबार २१ आश्विन, २०८३ nepalexplores 1007


त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरू

२१ असोज, काठमाडौं । 

त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरु भएको छ।

भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको साहसिक जलयात्रा (¥याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

बाढीपछि नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षाका कारण रोकिएको ¥याफ्टिङ नदीको अवस्था सामान्य भएपछि जलपर्यटन व्यवसायीहरूले पुनः सञ्चालनमा ल्याएका छन्।

¥याफ्टिङ सञ्चालन गर्नुअघि जलयात्रा विज्ञ, अनुभवी गाइड तथा प्राविधिकको टोलीले त्रिशूलीका प्रमुख ¥याफ्टिङ रुटको स्थलगत अनुगमन गरेका थिए।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा) ले नदीको बहाव, धार र रुटमा आएको परिवर्तनबारे निरीक्षण गरेपछि ¥याफ्टिङ सेवा सञ्चालन गरेको जनाएको छ।

पटक–पटक अध्ययन तथा निरीक्षण गरेपछि नदीको अवस्था ¥याफ्टिङका लागि सुरक्षित रहेकोले ¥याफ्टिङ पुनः सञ्चालन गरिएको नाराका अध्यक्ष कमल ठकुरीले बताएका छन्। 

’त्रिशूली नदीको गल्छी देखि मुग्लिङसम्म खोलाको धारमा खासै परिवर्तन नभएकोले ढुक्क भएर ¥याफ्टिङ गर्न सकिने र अपनाउनुपर्ने सबै सेफ्टी प्रोटोकल अपनाएकाले बच्चादेखि वृद्धसम्म सबैले आएर मज्जाले ¥याफ्टिङ गर्न सकिने अध्यक्ष ठकुरीले बताएका छन्।

नाराका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले अहिलेको पानीको स्तर र बहाव साहसिक खेलप्रेमीका लागि अझ रोमाञ्चक बनेको बताएका छन्।

रिभर साइड स्पा एन्ड रिट्रिट तथा त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले ¥याफ्टिङ सुरू भएसँगै नदीमा आधारित पर्यटन व्यवसाय पनि चलायमान हुने विश्वास व्यक्त गरेका छन्।

नाराले ¥याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीलाई सेवा पुनः सुरू गर्न आग्रह गरेको छ। भने काठमाडौं बाट चितवन, पोखरा र लुम्बिनी जाने नेपाली तथा विदेशी पर्यटकले त्रिशूलीमा ¥याफ्टिङ गर्न सक्ने छन्।

लामो समयदेखि रोकिएको ¥याफ्टिङ सेवा पुनः सञ्चालन हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निर्भर व्यवसायी र श्रमिकलाई राहत पुग्ने जनाइएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु