शुक्रबार १० असार, २०७९
काठमाण्डौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ ।
गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९र८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।
त्यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । विशेषगरी गैँडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने उनले बताए ।
उपप्रमुख कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमाः पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच पुर्याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने बताइएको छ ।