आईतवार १२ असार, २०७९
काठमाण्डौ । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । एमालेका सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेट जनहितमा नभएको भन्दै आइतबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।
एमालेका सांसदहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको र यसबाट प्रदेशको समृद्धि हुन नसक्ने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् । प्रदेश सरकारले प्रतिपक्ष दल र बहुमत सांसदलाई व्यवास्था गर्दै विना छलफल ल्याएको बजेट अहितकारी भएको र अघिल्ला सरकारले ल्याएका सबै वृहत योजनाहरु कटौति गरेर टुक्रे योजना ल्याएकाले बजेट पुस्तिका फिर्ता गरेको बताइएको छ ।
प्रदेशको प्रमुख प्रतिपक्षसँग सहकार्य नै नगरी बाइपास गरेर काम सुरु भएको र हुने अवस्थामा रहेका ठूला योजनाहरु समेत काटेर चुनाव लक्षित कार्यक्रमहरु समावेश गरेर ल्याएको बजेट मान्य नहुने भन्दै विरोध स्वरुप फिर्ता गरेको एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताए ।
बजेटप्रति एमालेले विरोध जनाउँदै आइतबार बसेको बागमती प्रदेशसभा बैठकमा समेत अवरोध गरेको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले एमालेको अवरोध पछि अवरुद्ध भएको प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे आह्वान गरेका छन् ।