बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

 भक्तजनको रोजाईमा पर्दै गोसाइँकुण्ड 

सोमबार २ श्रावण, २०७९ Nepalexplores 1315


 भक्तजनको रोजाईमा पर्दै गोसाइँकुण्ड 

काठमाण्डौ । साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन् ।

गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्व अन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर  पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ । यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शारीरिक रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ भक्तजन साउन महिनाको शुभारम्भ बाटै गोसाइँकुण्ड जान थालेको स्थानीय भक्तजन बताउँछन् ।


दैनिकरूपमा १०/१५ जना भक्तजन नीलाद्रि पर्वतको धार्मिक मार्गमा ओहरदोहर हुन थालिसकेको चन्दन बारीका होटल व्यवसायी सुब्बा लामा बताउँछन् । साउन महिनाभर गोसाइँकुण्ड दहमा स्नानका साथै पूजा आराधना गर्नाले मनोकाङ्क्षासमेत पूरा हुने मान्यता रहिआएको छ । धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्छ ।

धुञ्चेसम्म मोटरले पुर्याएपश्चात् सुरू हुने पदयात्रा देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक हुँदै गणेश गौडासम्म उकालो र त्यसपछि ककरो भिर हुँदै पवित्र तीर्थ पुगिन्छ । हाल ककरो भिरको पूरै भागमा नेपाली सेनाले फलामे वार लगाइदिएका कारण भिरमा लडिने डर पूर्णरूपमा अन्त्य भएकाले निर्धक्क साथ जान सकिने पुरोहित टंकप्रसाद ढकालले बताए ।

यस वर्षको जनै पूर्णिमाको प्रमुख दिन भने यही साउन २७ गते परेको छ । साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने स्थानीय अनुमान रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु