शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

सारस चराको मुख्य रोजाइमा पर्दै लुम्बिनी

मंगलवार ३ चैत्र, २०८२ nepalexplores 1790


सारस चराको मुख्य रोजाइमा पर्दै लुम्बिनी

३ चैत, काठमाडौं।
सारस चराको मुख्य रोजाइमा लुम्बिनी प्रदेश परेको छ।

विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र नभइ सारस चराको लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ।

स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय क्लबको सहकार्यले लुम्बिनीले सारस संरक्षण अभियानलाई नयाँ उचाइ दिएको जनाएको छ।

सिमसार क्षेत्रमा मानव चहलपहल कम हुने भएकाले प्रकृतिको काखमा सुरक्षित महसुस गरेका सारस यतिबेला लुम्बिनी वरिपरि ढुक्क भएर सन्तान वृद्धिमा लागेका छन्।  

सारसको रोजाइमा क्षेत्रमा अहिले प्रजननको समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा प्रायः दुई वटा अण्डा पार्ने गर्छ।

वर्षा ऋतुको समयमा करिब ३० देखि ३२ दिनसम्म ओथारो बसेपछि सारसले चल्ला कोराल्ने गर्छ। चल्ला पाँच देखि छ महिनासम्म माउसँगै बस्ने र यही अवधिमा आमा–बुबाले आहारा खोज्ने तथा जीवनयापन गर्ने तरिका सिकाउँने गर्छन्।

सारस संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार सारसका बच्चा दैनिक करिब एक इन्चको दरले हुर्कने, “बच्चा केही हुर्किएपछि सारसको जोडीले नाचेर आफ्नो व्यवहार देखाउँने र त्यो नृत्य चल्लालाई सिकाउँने गर्छन्”,।

सारसको जीवनचक्र रोचक रहेको छ। ओथारो बसेको समयमा भाले सारसले टाढा बाट आहारा खोजेर ल्याउने गर्छ। बच्चा निस्के पछि आहारा खोज्न धेरै टाढा जान नपरोस् भनेर उसले नजिकको आहारा टिप्न छाड्ने गरेको बताइन्छ। गङ्गटो, भ्यागुता, माछा र केही विशेष घाँसका जरा सारसका प्रिय आहार हुन्।

लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि देखिन थालेको बताएका छन्। 

संरक्षणकर्मी कुर्मीका अनुसार अहिले नेपालमा ७०० जति सारस रहेको बताएका छन्। यीमध्ये लुम्बिनी आसपासमा मात्रै करिब ८० प्रतिशतभन्दा बढी जोडी सारस रहेको बताएका छन्।

लोपोन्मुख मानिने सारस चराको संरक्षणमा अहिले स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पन्छी’ घोषणा गरेर संरक्षण अभियानलाई संस्थागत रूप दिएको जनाएको छ।

लुम्बिनी विकास कोषले सारसका लागि उपयुक्त क्षेत्र छुट्याएको जसमा विश्व शान्ति स्तूपको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको छ, जहाँ अहिले धेरै जोडी सारस देख्न सकिने र यस बाहेक मर्चवार र लुम्बिनीको सीमा क्षेत्र भइ, बभनी, अजमा लगायतका क्षेत्रमा ठुलो समूहमा सारसहरू रमाइरहेको बताएका छन्।

सारस संरक्षणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको र पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले शान्ति स्तूप परिसरमा करिब दुई किलोमिटर पैदलमार्ग निर्माण गर्ने तथा चरा अध्ययन गर्न चाहने का लागि वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने योजना लुम्बिनी विकास कोषले अघि सारेको जनाएको  छ।

चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति सारस पाइने बताएका छन्। लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस, कालो टाउके सारस र सारस रहेका छन्। अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी मानिन्छन्।

सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो। विगतमा यसको अण्डा र मासुको अवैध सिकार हुने गरेको भए पनि अहिले स्थानीयको सचेतनाले यस्तो गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मी कुर्मी बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु