सोमबार १ आश्विन, २०८०
१ असोज, काठमाडौं ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अघिल्लो कार्यकाल पूर्णतः सञ्चालन हुन नसकेको बताएका छन् । यसको असर संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा समस्या पर्दै गएको उनको टिप्पणी छ ।
‘कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनःस्थापित भयो । यसले गर्दा केही अलमल र ढिलाइ भयो,’ राष्ट्रिय सभाचार समितिसँगको अन्तरर्वार्तामा सभामुख घिमिरेले भनेका छन्, ‘अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ । संसद, समितिहरू र संसद सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ ।’
सभामुख घिमिरे प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा कानुन बनाउने वातावरण संसदमा बन्न नसकेको दोहोर्याउँछन् ।
उनी थप्छन्, ‘गत कार्यकालको संसद् पूर्णतः सञ्चालन हुन सकेन । त्यहाँ तानातान र हानाहानको स्थिति भयो । विरोध र बहिष्कारको स्थिति भयो । जरुरी कानुन बनाउने र बहस छलफल गर्ने काममा सोचेजस्तो सफलता हासिल भएन । राजनीतिक अस्थिरता भयो ।’