शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

विद्युत प्राधिकरणका २ दर्जन योजनाः प्रणाली सुधार्ने देखि ठूला आयोजना निर्माण गरिने  

बुधबार १ भाद्र, २०७९ Nepalexplores 1196


विद्युत प्राधिकरणका २ दर्जन योजनाः प्रणाली सुधार्ने देखि ठूला आयोजना निर्माण गरिने  

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले आफ्नो  करिब २ दर्जन भावी कार्ययोजनाहरू सार्वजनिक गरेको छ । बुधबार वार्षिक  उत्सवको अवसर पारेर प्राधिरकणका कार्यकारी निर्देशकले प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म  विभिन्न योजनाहरु सार्वजनिक गरेका हुन् ।

उनले प्राधिकरणको सफलताको ग्राफ अझै उकालो लाग्ने बताए । ५ वर्षमा ३ गुणाले खपत बढाएको भन्दै उनले अब पनि त्यस्तै सफलताका लागि काम हुने बताए ।


विद्युतीय ऊर्जामा आत्मनिर्भर भई बढी भएको विद्युत छिमेकी राष्ट्रहरुमा निर्यात गरी आर्थिक अवस्था सुदृढ गर्ने प्राधिकरणको दिर्घकालीन लक्ष्य रहेको उनले बताएका छन् । प्राधिकरणले सरकारी  तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने घिसिङले बताए ।


६३५ मेगावाटको दुधकोशी, १०६१ मेगावाटको अपर अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाचौं र ६० मेगावाटको मोदी (माथिल्लो र तल्लो० जलविद्युत आयोजनाहरुको निर्माणलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य अघि बढाउने योजनामा उल्लेख छ । प्राधिकरण र सतलज जलविद्युत कम्पनीबीच ४९०.२ मेगावाटको अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने योजना पनि समेटिएको  छ । प्रतिस्पर्धात्मक प्रकृयाबाट सौर्य ऊर्जा खरिद गर्ने र जलप्रवाहको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्न प्रोत्साहन हुने गरी विद्युत खरिद गर्ने नीति लिइने घिसिङले बताए ।

‘काठमाडौं लगायतका प्रमुख शहरहरुमा वृद्धि भइरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लगिनेछ,’ घिसिङले भने,’हुलाकी राजमार्ग आसपास डेडिकेटेड ४०० केभी र मल्टी सर्किट २२० केभी लगायतका विभिन्न क्षमताका दक्षिण कोरिडोर प्रसारण लाइन निर्माण गर्न आवश्यक वित्तिय स्रोत नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एक्जीम बैङ्कहरु लगायतका विभिन्न दातृ निकायहरुबाट जुटाइने छ ।’

निकट भविश्यमा नै थप विद्युत आयोजनाहरु सञ्चालनमा आई वर्षभरी नै मुलुक आवश्यकता भन्दा अधिक ऊर्जा उत्पादन गर्न सक्ने अवस्थामा पुग्ने भन्दै घिसिङले  स्वदेशमा नै विद्युतको खपत वृद्धि गरी खपत नभएको विद्युत मात्र निर्यात गर्ने नीति अवलम्वन गरी सोही अनुरुप खपत वृद्धि गर्न विद्युतीय चुल्हो, विभिन्न विद्युतीय उपकरण, विद्युतीय सवारी साधनको प्रयोग गर्न उपभोक्ताहरु समक्ष चेतना मूलक विद्युत खपत प्रवर्द्धन कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिने जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु