आईतवार २ आश्विन, २०७९
काठमाण्डौ । पोखरा फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरेस्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं. को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयं उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घर-धनीहरूलाई जानकारी गराएका थिए । तर, त्यसको भोलिपल्ट नै स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी घरको तेस्रो तला ढलान गरेका छन् ।
महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि महानगरका प्रहरीहरूले सई थापाको नेतृत्वमा सो स्थानमा पुगी फेवा रेडी मिक्स्चर प्रा.लिको मिक्स्चर सामानसहित नियन्त्रणमा लिएका हुन् ।