आईतवार ९ आश्विन, २०७९
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो । आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको छ ।
शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो । १८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो ।
अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ ९फेड० ले ब्याजदर बढाउँदा अमेरिक डलर बलियो हो । अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् ।