शुक्रबार २८ आश्विन, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष एवं प्रदेश 'क' का उमेदवार रमेश कुमार बस्नेतले आफ्नो पार्टीको आवश्यकता र जनभावना अनुरुप आफ्नो उमेदवारी रहेको बताएका छन । सामाजिक संजालमा लेख्दै उनले मुलुकको संविधान, लोकतन्त्र, समावेशीता र धर्मनिरपेक्षतालाई जोगाउनको लागी वर्तमान सत्ता गठबन्धनको आवश्यकता र अपरिहार्यता भएता पनि गठबन्धन भित्र खास इमान्दारिता. त्यसको मर्म अनुसारका गतिविधिहरु नभएका कारणले प्रदेश 'क' मा छुट्टै प्रतिस्पर्धामा आउनु परेको बताएका छन ।
सत्ता गठबन्धनले सिटबाँडफाँड गर्दा रामेछापको प्रतिनीधिसभा तर्फ नेपाली काङ्ग्रेस र दुईवटै प्रदेशमा नेकपा माओवादी केन्द्रको भागमा परेपछि सत्ता गठबन्धनको महत्वपुर्ण घटक नेकपा एकीकृत समाजवादी रामेछापले प्रदेश 'क' मा आफ्नो छुट्टै उमेदवारी दिएको छ । बस्नेत उक्त पार्टीको जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिकाका निवर्तमान मेयर हुन ।
उनले सामाजिक संजालमा यस्तो लेखेका छनः
आदरणीय रामेछापेली आमाबुबा दाजुभाई दिदिबहिनीहरुमा हार्दिक अभिवादन !
आगामी मङ्सिर ४ गते हुने प्रतिनीधि एवं प्रदेश सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी रामेछापको तर्फबाट पार्टी अध्यक्षको हैसियतले म रमेश कुमार बस्नेत प्रदेश 'क' मा कलम चिन्ह लियर यहाँहरु समक्ष प्रस्तुत भएको छु । विगत ४४ बर्ष देखि रामेछापेली जनताको बीचमा रहेर जनताको सेवा गर्दै आएको छु । विं सं २०५४ देखी ०५९ सम्म जिल्ला विकास समितिको उप-सभापति, २०६० देखी ०६१ सम्म जिल्ला विकास समितिको सभापाति र २०७४ देखी ०७९ सम्म मन्थली नगरपालिकाको प्रमुख भएर जनताको साथमा रहेर मैले मेरो कार्यकालमा सम्पादन गरेका कार्य प्रगतिहरुलाई यहाँहरुले नजिकबाट हेर्नु भएकै छ । मैले गरेका क्रियाकलापहरुबाट मलाई चिन्नुभएकै छ ।
संंघिय लोकतान्त्रिक गणतन्त्र, समावैशीता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्वको साथै मुलुकको संविधानको रक्षाको लागि वर्तमान सत्ता गठबन्धनको निर्णय र निर्देशनलाई पुर्ण पालन गर्ने हाम्रो दायित्व रहेता पनि रामेछाप जिल्लाको सन्दर्भमा गठबन्धनको इमान्दारिता र भावना विपरितका गतिविधिहरुमा हाम्रो पार्टीले सहभागिता जनाउँन नसक्ने र जनताको भावना र वर्तमान जिल्ला पार्टीको आवश्यकता बमोजिम हामी छुट्टै प्रतिस्पर्धामा जानुपर्ने परिस्थिति अनुरुप म प्रदेश 'क' बाट पार्टीको उमेदवारको रुपमा उभिएको छु ।
तथ्यहरुलाई हृदयगंमन गरी गठबन्धनको मर्म र भावना बमोजिम आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनीधि एवं प्रदेश सभा निर्वाचनमा रामेछाप प्रदेश 'क' मा यहाँहरुले आफ्नो अमुल्य मत भविष्य निर्माणको प्रतिक कलम चिन्हमा प्रदान गरी बिजयी गराउन लोकतान्त्रिक गणतन्त्र प्रती प्रतिबद्ध शक्तिहरु एवं रामेछाप प्रदेश 'क' बासी आम जनसमुदाय समक्ष हार्दिक अपिल गर्दछु ।