मंगलवार ९ माघ, २०८०
९ माघ, काठमाडौं ।
सोलुखुम्बु लगाएतको हिमाली क्षेत्रमा बिगत वर्षको चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएता पनि यस वर्षको हिउँद सुनसान जस्तै बनेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको बताए । अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए ।
विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै पर्यटक आवागमन न्यून बनेको छ । यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ ।
उच्च हिमाली क्षेत्रका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो ।