शनिबार १३ माघ, २०८०
१३ माघ , काठमाडौं ।
शुक्रबार देखि ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र पाथीभरा मन्दिरसहितका उच्च ठाँउमा बाग्लो हिमपात भएको छ । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यस अघि कात्तिकमा सामान्य हिमपात भएको थियो । भने अहिले पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका एक कर्मचारीले बताए । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मा लगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेरहेको छ ।
ओलाङ्चुङगोलाकै याङ्मा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो । यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।
हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकै लगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैंची, तरकारी लगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।