शनिबार ३ चैत्र, २०८०
३ चैत, काठमाडौं ।
सुर्खेतको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दुई हजार ३९ उजुरी पुगेको छ। कर्णाली प्रदेशको १० जिल्ला बाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आवको एक हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले राससलाई जानकारी दिए। वनलगायत क्षेत्रमा आर्थिक अनियमितता, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, खानेपानी, कृषि भ्रष्टाचार आरोपमा उजुरी परेको उनले बताए।
परेका उजुरीहरु मध्ये पाँच सय ४९ फछ्र्योट भएको र एक हजार चार सय ९० फछ्र्योट हुन बाँकी छ भने चालु आवमा जिल्लागत हिसाबले सबै भन्दा बढी सुर्खेत बाट दुई सय ३७ र सबैभन्दा कम डोल्पा बाट ५८ उजुरी परेको उनले बताए। उनका अनुसार चालु आवसहित सुर्खेतको चार सय १५, दैलेखको तीन सय २१, मुगुको दुई सय दुई, कालीकोटको एक सय ९३, जुम्लाको एक सय ७९, हुम्लाको एक सय ७३, रुकुमपश्चिमको एक सय ५९, जाजरकोटको एक सय ४९, सल्यानको एक सय २३ र डोल्पाको एक सय उजुरी सङ्ख्या आयोगमा रहेको छ।
लुम्बिनी प्रदेशको पूर्वी रुकुम बाट २५ उजुरी परेको उनले बताए। आयोगले चालु आवको हालसम्म यहाँका ७९ स्थानीय तहको उजुरीको पनि अभिलेखीकरण गरेको छ । स्थानीय तहमा सबैभन्दा बढी मुगुको सोरु गाउँपालिकाबाट ३९ उजुरी परेको आयोगको तथ्याङ्कले देखाउँछ। दोस्रोमा जुम्लाको तातोपानी गाउँपालिकाको ३८ र तेस्रोमा दैलेखको गुराँस गाउपालिकाबाट ३० उजुरी परेको सूचना अधिकारी गौतमले जनाए।
गत र चालु आर्थिक वर्षसहित सोरु गाउँपालिका मुगुका ७९, गुराँस गाउँपालिका दैलेखका ४७, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ४५, सर्केगाड गाउँपालिका हुम्लाका ४५, भेरीगङ्गा नगरपालिका सुर्खेतका ४२, तातोपानी गाउँपालिका जुम्लाका ४१ र खाँडाचक्र नगरपालिका कालीकोटका ३५ उजुरी रहेको जनाइएको छ।
सूचना अधिकारी गौतमका अनुसार सल्यानको त्रिवेणी गाउँपालिकाबाट चालु आर्थिक वर्षमा परेको एक उजुरी फर्स्योट भएको छ भने कालीकोटको महावै र मुगुको मुगुम कार्मारोङ गाउँपालिका बाट हालसम्म कुनै उजुरी परेको छैन। स्थानीय तहमा चालु आवमा सात सय ६१ र गत वर्षको सरेको पाँच सय ९८ गरी एक हजार तीन सय ५८ उजुरी परेकोमा हालसम्म तीन सय ७५ फछ्र्योट भइसकेका र नौ सय ८४ फर्स्योट हुन बाँकी रहेका छन्।
चालु आवको हालसम्म सबैभन्दा कम हुम्लाको नाम्खा, जाजरकोटको बारेकोट, दैलखेको ठाँटीकाँध, जुम्लाको पातारासी गाउँपालिकाबाट एक÷एक, सुर्खेतको चिङ्गाड, रुकुमपश्चिको त्रिवेणी, कालीकोटको सान्नी त्रिवेणी, जाजरकोटको शिवालय, कुसे, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, डोल्पोबुद्ध, काइके गाउँपालिका, सल्ल्यानको, कुमाख, हुम्लाको खार्पुनाथ, सिमकोट गाउँपालिका र मुगुको छायाँनाथ रारा नगरपालिकाको दुई÷दुई उजुरी परेको सूचना अधिकारी गौतमले बताए।