शुक्रबार १६ चैत्र, २०८०
१६ चैत, काठमाडौं ।
विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न सुरु गरेको छ। बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी अब देखि नियमित रुपमा अघि बढ्ने छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो । सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइन बाटै बहस गरे। त्यही मुद्दामा सरकारी वकिलको तर्फ बाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालय बाट अनलाइन बहस गरेका थिए।
अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ। कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्म बाटै बहस गर्न सक्छन्।
अनलाइन सुनुवाइको सुरुवातबारे प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले टाढाका सेवाग्राहीलाई अदालत परिसरमै उपस्थित हुनुपर्ने बाध्यता हटेको बताए। ‘देशभर क्षेत्राधिकार भएको विशेष अदालतले सुरुवात गरेको अनलाइन सुनुवाइ प्रणालीले सेवाग्राहीहरु अदालतमै आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यस बाट छिटोछरितो न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास छ’, उनले भने।
अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ। कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन्। विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई पनि कार्यालय बाट बहस गर्न सकिने भनी पत्र पठाएको छ । एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइन बाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ।