शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

बुधबार २१ चैत्र, २०८० nepalexplores 1469


बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

२१ चैत, ढोरपाटन ।
यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्। 


बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने  बढ्दै छन्। शीतलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले पर्यटकलाई निम्तो दिइराखेको छ।

 

लामो समयको खडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ। केही दिनयता बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गा, पातिहाल्ने, सोलेडाँडा लगायत क्षेत्रमा घुम्न आउनेको चहलपहल बढेको छ। त्यसले पर्यटकलाई आकर्षित गरिरहेको छ।

 

सडक सञ्जालले गर्दा सहज रुपमा पुग्न सकिने र ती स्थानमा पुगेपछि रमाइलो हुने हुँदा धेरैको रोजाइमा सो क्षेत्र परेको छ। पातिहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ भने सोलेडाँडा र बेलढुङ्गा दुवै जिल्ला बाट सडक पुगेको छ। 

 

वनैभरि फूलेका गुराँससँग रम्न तल्लो क्षेत्र बाट लेक उक्लने बढिरहेका छन्। बागलुङ, रोल्पा र रुकुमको सिमानामा रहेको पातिहाल्ने तथा बागलुङ र म्याग्दीको सिमानामा रहेको सोलेडाँडा र बेलढुङ्गामा दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन्। बाह्रै महिना पर्यटकले पुग्ने यी क्षेत्रमा यो बेला अझ बढी आएको स्थानीय बताउँछन्।

 


यस वर्ष यी तीनवटै पर्यटकीय क्षेत्रमा पुस र माघमा हिउँ परेको थियो। पुस र माघ महिनामा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन्। पातिहाल्ने समुन्द्री सतहदेखि तीन हजार दुई सय मिटरको उचाइमा छ भने सोलेडाँडा दुई हजार छ सय ३० मिटरको उचाइमा छ। बेलढुङ्गा दुई हजार छ सयको उचाइमा पर्छ। उच्च पहाडी क्षेत्रमा रहेका यी पर्यटकीय क्षेत्रमा अन्य समयमा पनि पर्यटक आउने गर्छन्।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु