शनिबार ५ आश्विन, २०८१
५ असोज, काठमाडौं ।
शरद ऋतुसँगै पर्यटनको मुख्य याम पदयात्रा सुरु भएको छ।
पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण पदमार्ग सहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउनका लागी असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ।
ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अनुसार मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जने गरेको जानकारी दिएका छन्।
पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि भित्रने पर्यटकको सहज आउजाउमा बाधा पु¥याइरहेको र पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाईयात्रालाई सुरक्षित एवं व्यवस्थित नहुँदा समस्या भएको ट्रेकिङ एशोसिएसन अफ नेपालले जनाएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन्। ‘एक्याप’ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी लगायत अन्नपूर्ण फेरोमा पर्ने पर्यटकीय गन्तव्य हुन्। कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन्।
कास्की, लमजुङ, मनाङ, म्याग्दी लगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिने ‘एक्याप’का प्रमुखले बताए। चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो।
आयोजना प्रमुख डा रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान सञ्चालन गरिएकाले त्यहाँ जाने पर्यटकलाई सकेसम्म बोतल र प्लाष्टिकजन्य सामग्री नलैजान आग्रह गरे। ‘उच्च पहाडी र हिमाली भेगमा जाँदा लेक लाग्ने घटना वृद्धि भइरहेकाले पर्यटकलाई विशेष सावधानी अपनाएर यात्रा गर्न अनुरोध गर्दछौँ’, उनले भने।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ।