शुक्रबार ८ श्रावण, २०८३ (Friday July 24, 2026)

धवलागिरि हिमाल आरोहणका लागि अनुमति

मंगलवार ८ आश्विन, २०८१ nepalexplores 1436


धवलागिरि हिमाल आरोहणका लागि अनुमति

८ असोज, काठमाडौं ।
यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्। 

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहणका लागि आरोह समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

 धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागले जनाएको छ। गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए। 

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका निमित्त ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन्। उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ। 

सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ। अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ।  

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। 

मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु