शनिबार २२ चैत्र, २०८१
२३ चैत,काठमाडौं ।
ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती बढ्दै गएको छ। नेपालको एक मात्र सिकार आरक्षमा रेडपाण्डाको बासस्थान नासिँदै गएपछि रेडपाण्डा संरक्षणमा चुनौती बढेको हो।
मुलुकभर सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जनाएका छन्। गणना एकीन नभए पनि सिकार आरक्षभित्र अहिलेसम्म करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको बताएका छन्।
विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरिएको छ। रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने भएकाले पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकोमा सरोकारवालाको चासो देखिएको छ।
रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको सुवेदीको भनाइ छ। ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको जानकारी दिएका छन्।
विसं २०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थियाे, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटियाे, अहिले धेरै ठाउँमा बाक्लो रूपमा रेडपाणडा भेटिन्छन भने करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको आकलन गरिएकाे आरक्षले जनाएकाे छ। जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो।”
खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ। अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ।