बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

संगठन विस्तारमा निष्क्रियता, टिकटमा सक्रियता ः रास्वपा काठमाडौँ सभापति प्रदिप बिष्ट

बुधबार १ माघ, २०८२ nepalexplores 5270


संगठन विस्तारमा निष्क्रियता, टिकटमा सक्रियता ः रास्वपा काठमाडौँ सभापति प्रदिप बिष्ट

३० पुस, काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला सभापति प्रदिप बिष्ट माथि पार्टी संगठन विस्तारभन्दा आउँदो निर्वाचनमा टिकट सुरक्षित गर्ने उद्देश्यमा बढी केन्द्रित भएको आरोप लागेको छ। 

पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरूले संगठन निर्माणमा अपेक्षित सक्रियता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी स्रोतका अनुसार बिष्टले संगठन विस्तार, वडास्तर तथा पालिकास्तरमा कार्यकर्ता परिचालन गर्नुको सट्टा पार्टी नेतृत्वसँग निकटता बढाउने र पार्टी कार्यालयमा नियमित उपस्थितिलाई प्राथमिकता दिएको गुनासो गरेका छन्। 

यसले पार्टीभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखिएको देखिने कार्यकर्ताहरूको भनाइ छ। बिष्ट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा बाट उम्मेदवार बनेका व्यक्ति थिए। 

हाल पनि उनले आफूले नै टिकट पाउनुपर्ने र आफ्नो स्थानमा अन्य कुनै उम्मेदवार स्वीकार्य नहुने अभिव्यक्ति दिने गरेको कार्यकर्ताहरू बताउँछन्। यसले पार्टीभित्र आन्तरिक असन्तोष बढाएको उनीहरूको दाबी छ।

त्यस्तै, आफ्नै वडामा समेत संगठन विस्तार प्रभावकारी रूपमा गर्न नसकेको तथा विभिन्न पालिकामा रास्वपाका नेता–कार्यकर्तासम्म नपुगेको गुनासो उठिरहेको छ। यस अवस्थाले पार्टीको सांगठनिक सुदृढीकरणमा नकारात्मक प्रभाव परेको कार्यकर्ताहरूको भनाइ छ।

पार्टीभित्र काम गर्नेभन्दा बढी बोल्ने र नेतृत्वको वरिपरि रहने व्यक्तिहरूले टिकट पाउने प्रवृत्ति बढ्दै गएको आशंका समेत व्यक्त गरिएको छ। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले विधि, विधान र कार्यसम्पादनको आधारमा नेतृत्व तथा उम्मेदवार छनोट गर्नुपर्ने मान्यता राख्दै आएको छ।

पार्टीका जिम्मेवार तहका नेताहरूले संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र जनस्तरसँगको सम्पर्कलाई प्राथमिकता नदिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

रास्वपाले आफ्नो मूल सिद्धान्त अनुसार पारदर्शिता, योग्यता र कार्यक्षमताको आधारमा निर्णय लिनुपर्ने उनीहरूको जोड छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु