बिहीबार ३२ असार, २०८३
३२ असार, काठमाडौं ।
नवलपरासीमा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यस वर्ष पर्यप्त पानी परे पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा धान रोपाइँ रोपाइँले तिब्रता पाएको हो ।
कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालको अनुसार जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफल मध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको जानकारी दिएका छन् ।
लगातार वर्षा हुन थाले पछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र बनेको छ भने पहाडी भूभागका केही क्षेत्रमा अझै रोपाइँ जारी रहेको जनाएका छन् ।
गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही स्थानमा अझै रोपाइँ भइरहेको ढकालले जानकारी दिएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कूल ६१ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको र बाँकी ४५ प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर रहेको बताएका छन् ।
जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा तथा विभिन्न हाइब्रिड जातका धानखेती हुँदै आएको तथा जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब तीन टन रहेको अर्थविज्ञ ढकालले बताएका छन् ।
सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान वर्षाको भरमा रोपाइँ गर्नुपर्ने भएकाले रोपाइँको गति मौसमसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
गत आर्थिक वर्ष २०८२–८३ मा जिल्लामा करिब १८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा यस वर्ष धानखेती हुने क्षेत्रफल १८ हजार ५०० हेक्टर कायम गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।