मंगलवार १२ श्रावण, २०८३
१२ साउन, काठमाडौं ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र रुसी राजदूत अलेक्सेई बीच भेटवार्ता भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको जनाएको छ ।
भेटघाटका क्रममा नेपाल र रुस बीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार र व्यापार सहजीकरणमा सहकार्य बढाउने तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।
छलफलका क्रममा रुसी राजदूत सुरोभ्त्सेभले नेपाल र रुस बीच व्यापार तथा आर्थिक फोरम मार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा वर्तमान नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
सुरोभ्त्सेभले दुई देश बीचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।
भेटका अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फ बाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्री यादवले उक्त निमन्त्रणा स्वीकार गर्दै दुई देश बीचको सहकार्यलाई थप उचाइमा पु¥याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको जनाएको छ ।