बिहीबार २८ श्रावण, २०८३
२८ साउन, काठमाडौं ।
गोसाइँकुण्डमा लाग्ने मेलाको व्यवस्थापकीय तयारी सुरु भएको छ ।
हरेका वर्ष जनैपूर्णिमाका दिन लाग्ने तीर्थस्थल गोसाइँकुण्डको मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु गरिएको जनाएको हो।
यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर व्यवस्थापकीय काम सुरु गरिएको जनाएको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट निर्धारण समिति लगायत ११ वटा उपसमिति गठन गरिएको जनाएको छ ।
आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध गोसाइँकुण्ड मेला भर्न आउने श्रद्धालु भक्तजनको यात्रा सहज, सफल र सुरक्षित बनाउने उद्देश्यले गठन भएका उपसमितिहरूले काम सुरु गरेकाे निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।
धार्मिक पैदलमार्गको मर्मतसम्भार तथा सरसफाइ, होटल तथा लजको सुदृढीकरण, खाना–नास्ता र खानेपानीको व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन सहित उद्धार तथा राहत व्यवस्थापनसँग सम्बन्धित काम अघि बढेको गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार तामाङले जानकारी दिएका छन् ।
स्थानीय तह र समुदाय, सुरक्षा निकाय, स्वास्थ्य संस्था बीच समन्वय सहित सहकार्य भइरहेको जनाएकाे छ । भने मेलमा आउनेहरुलाई लेक लाग्न सक्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजन सहितको चिकित्सक टोली गोसाइँकुण्डमा तैनाथ गरिने भएको छ ।
हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्यालका अनुसार स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सञ्चारकर्मी तथा नागरिक समाजसँगको समन्वयमा स्वास्थ्य उपचार तथा उद्धार, सुरक्षा, प्रचारप्रसार लगायतका काम गरिने जनाएको छ ।
समुद्री सतह बाट ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान, पूजा र दर्शन पुण्य प्राप्त हुने विश्वास सहित नेपाल तथा भारतलगायत विभिन्न स्थान बाट उल्लेख्य सङ्ख्याका भक्तजन हरेक वर्ष गोसाइँकुण्ड पुग्ने गरेका छन् ।