सोमबार ५ आश्विन, २०८३
५ असोज, काठमाडौं ।
बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा पाराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।
लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा पाल्पाको
नुवाकोट डाँडा बाट उडान भरेर बुटवल–१३ को बेलबास क्षेत्रमा सुरक्षित अवतरण गरिएको कम्पनीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ नुवाकोट डाँडा बाट बुटवल उपमहानगरपालिका–१३ बेलबास बदेलपोखरी जितेश्वरी मावि क्षेत्रसम्म पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको हो ।
बुटवल क्षेत्रमा पहिलोपटक पाराग्लाइडिङको परीक्षण उडान सफल भएको लुम्बिनी इगल एअर एडभेन्चर प्रालिका अध्यक्ष डा. किसन थापाले बताएका छन् ।
करिब १ दशक अघि देखि सम्भाव्यता अध्ययन थालिएको योजनाले परीक्षण उडानको चरण पार गरेको थापाले बताएका छन् ।
करिब एक दशक अघि देखि यसको सम्भाव्यता अध्ययन गर्दै आएकोमा अहिले परीक्षण उडान सफल भएको थापाले बताएको र अब आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गर्ने तयारीमा समेत रहेको बताएका छन् ।
बुटवलमा पाराग्लाइडिङ सञ्चालन भएपछि यस क्षेत्रको पर्यटनमा नयाँ प्रडक्ट थपिने अपेक्षा गरिएको तथा विशेषगरी लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउन पाराग्लाइडिङले सहयोग पुग्ने हुँदा आयास्रोतमा समेत बृद्धि हुने आसा रहको थापाले बताएका छन् ।
लुम्बिनी आउने पर्यटकलाई थप आकर्षित गर्न पाराग्लाइडिङ एउटा नयाँ साहसिक पर्यटन गतिविधि बन्न सक्ने र आकाश बाट बुटवल, तिनाउ क्षेत्र, पहाडी भूभाग तथा आसपासका प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटन गतिविधि विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको थापाले बताएका छन् ।
परीक्षण उडानका लागि संघीय पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण बाट आवश्यक उडान स्वीकृति लिइएको तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग समेत समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।
नेपालमा हाल करिब ६० वटा पाराग्लाइडिङ कम्पनी, १३ वटा उडान क्षेत्र र ५ वटा पाराग्लाइडिङ स्कुल सञ्चालनमा रहेको तथ्यांक छ। भने नेपालमा करिब ४०० पाराग्लाइडिङ पाइलट रहेको र तीमध्ये करिब २४० जना सक्रिय रहेको तथ्यांकले देखाएको छ ।