बिहीबार ७ भाद्र, २०८०
७ भदौं, काठमाडौं ।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको एउटा मन्त्रिपरिषद् बैठकले बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गाबारे निर्णय गरेको थियो ।
सो निर्णयका आधारमा बिचौलियाले नक्कली ‘पशुपति टिकिन्छा गुठी’खडा गरेर जग्गा हिनामिना गरेका हुन् ।
२०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ को मन्त्रिपरिषद्को निर्णय तथा प्रमाणितमा टेकेर ललिता निवासको जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ । तीमध्ये एउटा मन्त्रिपरिषद् बैठकको नेतृत्व डा.बाबुराम भट्टराईले गरेका थिए ।
ललिता निवासबारे डा. भट्टराईले सम्पूर्ण विधि प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्मा पेश भएको प्रस्ताव उपर छलफल गरेर ‘सामूहिक रूपमा निर्णय गरिएको’ बयान दिएका छन् ।
सीआईबीका अनुसन्धान अधिकृतहरूले टोखास्थित भट्टराईको निवासमा गएर गराएको बयान कागज अनुसार भट्टराईले भनेका छन्–‘मन्त्रिपरिषद्को निर्णय सरकारी जग्गा व्यक्ति विशेषलाई दिने भन्ने होइन ।’