बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

बुधबार १३ भाद्र, २०८० nepalexplores 1241


एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद


१३ भदौ, काठमाडौं । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ ।

एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।

‘मोर्चा निर्माणका क्रममा नै हामीले समाजवाद र राष्ट्रिय स्वाधीनताको विषयलाई मुख्य बनाएका थियौं’, बैठकमा सहभागी नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले अनलाइनखबरसँग भने, ‘उहाँ (प्रधानमन्त्री) ले एमसीसी कार्यान्वयन घोषणालाई रोक्न नसकिने भनेपछि हामीले एमसीसी कार्यन्वयन पनि गर्ने, हामीसँग समाजवादी मोर्चामा पनि रहने कुराको तादम्यता मिलेन भन्यौँ । त्यसपछि आज धनगढीमा गर्ने भनिएको मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ ।’

बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित थिए । उक्त बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल पनि सहभागी भएनन् । ‘उहाँले पनि आउँछु भन्नुभएको थियो । तर पछि भ्याइएन भनेर खबर पठाउनुभएको थियो । हामीले राखेको विषयमा आफू सहमत भएको उहाँको धारणा छ’, शर्माले भने ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु