शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

पाकिस्तानले गर्यो ब्यालिस्टिक मिसाइलको परीक्षण

आईतवार २१ बैशाख, २०८२ nepalexplores 1455


पाकिस्तानले गर्यो ब्यालिस्टिक मिसाइलको परीक्षण

२१ वैशाख, काठमाडौं ।
पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ। भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको हो।

पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको हो। परीक्षण गरेको मिसाइलले करिब २८० माइलको दूरीसम्म प्रहार गर्न सक्ने पाकिस्तानले जनाएको छ।

भारतको जम्मू–कस्मिरस्थित पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। 

पाकिस्तानले मिसाइल परीक्षण गर्दा भारतसँगको सीमा क्षेत्रतर्फ नगरेर सामान्यतया अरब सागर वा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको मरूभूमितर्फ प्रक्षेपण गर्छ।

अब्दाली हतियार प्रणाली अन्तर्गतको सो मिसाइलको परीक्षण सेना परिचालनको तयारी र मिसाइलको उन्नत ‘नेभिगेसन’ (जहाज चलाउने) प्रणाली सुनिश्चित गर्नका लागि गरिएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज शरीफले सफल परीक्षणका लागि त्यसमा संलग्न सबैलाई बधाई दिएका छन्।
भारतको नौसेनाले पनि अप्रिल २७ मा आफ्ना जहाजहरूले लामो दूरीको सटीक प्रहार गरेर सफलतापूर्वक जहाज डुबाउने फायरिङको अभ्यास गरेको थियो।

चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु