आईतवार १५ चैत्र, २०८२
१५ चैत, काठमाडौं।
सुनसरीको रास ताल पर्यटकको आकर्षण बढ्दै गएको छ।
सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको हो।
प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको रास तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्न थालेको छ।
धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थान बाट समेत पर्यटक रास ताल घुम्न आउने गरेको गरेका छन्।
विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकै पटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको रास ताल व्यवस्थापन समितिले जनाएको छ।
रास ताल क्षेत्रमा पिकनिक सिजनमा दैनिक ८ देखि १० हजार भन्दा बढी पर्यटक आउने र अफसिजनमा पनि अहिले दैनिक २,३ सयभन्दा बढी पर्यटकको आवत जावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताएका छन्।
सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमुना क्षेत्रका रूपमा विकास गर्न थालिएको थियो।
समितिका सचिव माझीका अनुसार रास ताल क्षेत्रमा रु.३ सय शुल्क तिरे पछि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म माछा मार्न तथा पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँने व्यवस्था समेत रहेको जनाएको छ।
यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन र चिडिया घरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गर लगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिएका छन्।
पिकनिक तथा बोटिङ बाट वार्षिक रूपमा रु. ६ देखि ७ लाखसम्म आम्दानी हुने गरेको समितिको जनाएको छ।
उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको समितिले जनाएको छ।