सोमबार ८ असार, २०८३
८ असार, काठमाडौं ।
कोशीटप्पु भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढदै गएको छ।
आर्थिक वर्ष २०८२÷८३ को जेठ महिनासम्म कूल ९ अजार २४२ जना पर्यटकले भ्रमण गरेको जनाएका छन्।
अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको संख्यामा उल्लेख बृद्धि भएको हो।
आरक्ष प्रशासनका अनुसार पछिल्लो समय यस क्षेत्रमा विदेशीको तुलनामा आन्तरिक पर्यटकको आकर्षण सबै भन्दा बढी देखिएको जनाएको छ।
आरक्ष भ्रमण गर्ने कूल पर्यटक मध्ये ९ हजार ७० जना नेपाली रहेका छन्। भने जसमा ४ हजार ५३५ महिला र ४ हजार ५३५ पुरुष रहेका छन्।
त्यसै गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुक बाट ३ जना महिला र २२ जना पुरुष गरेर कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेको जनाएका छन्।
सार्क मुलुक बाहेकका अन्य विदेशी मुलुक बाट ४४ जना महिला र १०३ जना पुरुष गरी १४७ जना पर्यटक आरक्षको अवलोकनका लागि आएका छन्।
यस आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी पर्यटक मंसिर महिनामा आएको र सबै भन्दा कम असोज महिनामा पर्यटक आएको जनाएका छन्।
आरक्ष प्रशासनको अनुसार साउनमा ४९६, भदौमा ५४७, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठ महिनामा १ हजार ७० जना पर्यटकले आरक्षको भ्रमण गरेका छन्।
विशेषगरी पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावरहरू हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर र अजिङ्गर प्रत्यक्ष हेर्न पाउँछन्।
आरक्षको छेवैमा बग्ने सप्तकोसी नदीमा पर्यटकहरूले सजिलै डल्फिन समेत हेर्न पाउने आरक्षका योजना अधिकृतले जानकारी दिएकन छन्।
विश्वमै दुर्लभ मानिएका पन्छीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षमा हाँस प्रजातिका २० वटा र जलचरा प्रजातिका ११४ वटा पन्छीहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।