सोमबार २२ असार, २०८३
२२ असार, काठमाडौं ।
सरकारले एडीबी अध्यक्ष सँग २५ अर्बको ऋण सम्झौता गरेको छ ।
सरकारले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा २५ अर्बको ऋण सम्झौता भएको हो।
एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको जनाएको छ ।
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सम्झौता भएको हो ।
सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् ।
नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २) का लागि सो ऋण परिचालन गर्न लागेको जनाएको छ ।
ढल व्यवस्थापन सम्बन्धी आयोजनामा ११ करोड ५० लाख अमेरिकी डलर र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित आयोजनामा ५ करोड अमेरिकी डलर ऋण लिइएको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले बताएका छन् ।
स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा सम्झौत गरिएको रकम परिचालनको लक्ष्य राखिएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंक बाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।