शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दो

शुक्रबार २९ श्रावण, २०८३ nepalexplores 1209


कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दो

२९ साउन, काठमाडौं ।

 कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । 

प्रकृतिक सुन्दरताका कारण अन्तर्राष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक कोशी टप्पु पुग्ने गरेका छन् ।

यस क्षेत्र वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको बीचमा फैलिएको संरक्षित क्षेत्र हो। विसं २०३२ मा स्थापना भएको आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । 

२०६१ मा मध्यवर्ती क्षेत्र थपिए पछि यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम भएको छ। सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित आरक्ष क्षेत्र नेपालमा प्राकृतिक रूपमा पाइने जङ्गली भैँसी (अर्ना) को मुख्य बासस्थानका रूपमा परिचित रहको छ ।

आरक्षभित्र सप्तकोशीले बनाएका बालुवाका टापु, सिसौँ र खयरका वन, बसाइँसराइ गर्ने चराचुरुङ्गी तथा अति दुर्लभ खरमयूरका वासस्थान रहेका छन् । 

सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत यस क्षेत्रमा घडियाल, मगरगोही, डल्फिन र विभिन्न प्रजातिका माछा पाइन्छन् । चराहरूको अत्यधिक विविधताका कारण कोशी टप्पुलाई चराहरूको राजधानी पनि भन्ने गरिन्छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अङ्कित पौडेलका अनुसार हिमाल, पहाड र तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर र पन्छीका कारण नेपाल प्रकृति प्रेमी, अनुसन्धानकर्ता र पर्यटकका लागि विश्वकै आकर्षक गन्तव्य बन्दै गएको बताएका छन् ।

चालु आर्थिक वर्ष २०८२,८३ को जेठ मसान्तसम्म ९ हजार २४२ पर्यटकले आरक्ष भ्रमण गरिसकेका छन् । साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, मङ्सिरमा एक हजार ८९३, पुसमा ६४२, माघमा एक हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० पर्यटकले आरक्ष अवलोकन गरेका छन् ।

सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्त उपस्थितिले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ । 

जैविक विविधताको दृष्टिले नेपालकै महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ संरक्षणसँगै पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना समेत रहेको र अनुसन्धान, अध्ययन तथा प्रकृति पर्यटनका लागि विशिष्ट केन्द्र बनाएको छ ।

कोशी टप्पुको अर्को प्रमुख आकर्षण नेपालमा प्राकृतिक रूपमा पाइने एकमात्र जङ्गली भैँसी (अर्ना), जङ्गली हात्ती, एकसिङ्गे गैँडा, निलगाई, चितल, रतुवा, लगुना, मलाह बिरालो, घडियाल, मगरगोही, अजिङ्गर, सुनगोहोरोलगायतका दुर्लभ प्रजाति पनि यहाँ पाइन्छन् । 

दुर्लभ अर्ना, प्रवासी चराचुरुङ्गी, जलचर र हरियालीले सजिएको कोशी टप्पु संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउने नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ । 

स्थानीय होटल व्यवसायी लोकबहादुर मगरका अनुसार कोशी टप्पुको पर्यटन विकास अझै प्रारम्भिक चरणमै रहेको बताएका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु