आईतवार ४ आश्विन, २०८३
४ असोज, काठमाडौं ।
रसुवा भोटेकोशी बाढीपछि मुस्ताङमा पर्यटकको संख्यामा कमि आएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७.७८ प्रतिशत घटेर ३१ हजार ९८९ पुगेको जनाएको छ।
गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटना पछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्यांक अनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको जनाएको छ ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेकोर यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएको थियो ।
चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले बताएका छन् ।
अनुसार साउनको तुलनामा रसुवा बाढी पछि भदौमा आन्तरिक १४ हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको जनाएको छ ।